मानव हड्डीसहित बिराटनगरबाट बिद्यार्थी पक्राउ

मोरङको बिराटनगरबाट मानवको हड्डीसहित एक बिद्यार्थी पक्राउ परेका छन । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई मंगलबार दिउँसो पक्राउ गरेको सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले जानकारी दिएको छ ।
सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला परेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको बताए । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८÷८ वटा बरामद भएको उनले बताए ।
पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् ।
नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।