प्रदेश १ खेलकुदमा अब्बल हुनुप¥यो : मन्त्री राई

विराटनगर, २२ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बताउनु भएको छ । उहाँले खेलकुद क्षेत्रको समग्र विकास आवस्यक रहेकोमा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गतिदिने गरि काम गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो,‘ काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस् ।’
सपथग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।
प्रदेश १ मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।