झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि अर्मीसँग भिड्ने

घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।
झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो ।
फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।