घरेलु टोली झापा–११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहीबार भएको अन्तिम क्वाटरफाइनलमा सिक्किमको रेडपाण्डा फुटबल क्लबलाई ५–१ ले पराजित गर्दै
झापा–११ ले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
झापा–११ का विमल घर्तिले २ गोल गर्दा कप्तान विशाल राई बी र विश्वास श्रेष्ठले १–१ गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दियो । रेडपान्डाका लागि ६६ औं मिनेटमा योगेश मगरले पेनाल्टीमार्फत एकमात्र गोल गरे ।
जितसँगै अब झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।