सागको तयारी अन्तिम चरणमा

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले सागमा समावेश खेलका प्रतियोगिता स्थल तोक्नेदेखि प्राविधिकको सङ्ख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए ।

यसैगरी, महिला फुटबल पोखरा रङ्गशालामा नै आयोजना गर्ने गरी तयारी भइरहेको पनि बताए । साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २ हजार ३५ जना अफिसियलको आवश्यकता पर्ने पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरी ६ सय १३ जना नेपाल आउनेछन् ।

राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको सङ्ख्या ७ सय ३२ जना रहेको छ । यस्तै प्रावधिक सहायकको रूपमा ६ सय ९० जनशक्ति परिचालन हुने बताइएको छ ।