नेपाल आइडलमा बेलबारीकी प्रतिष्पर्धी लक्ष्मीलाई गुरुकुल बाल क्लबको सहयोग

बेलबारी स्थित गुरुकुल पाठशालामा अध्ययनरत विद्यार्थीहरुको क्लबले नेपाल आइडल सिजन ४ प्रतिष्पर्धी लक्ष्मी पौडेललाई भोटका लागि सहयोग गरेका छन् । नेपाल आइडलको जारी प्रतिष्पर्धामा टप ६ मा रहेकी बेलबारीकी लक्ष्मी पौडेललाई अघिल्लो राउण्डमा प्रवेशका लागि गुरुकुलका विद्यार्थीहरुले १ हजार भोट गर्न पुग्ने रकम प्रदान गरेका हुन् । गुरुकुल बाल क्लबले आइतबार लक्ष्मीका बुवा रघुनाथ पौडेललाई ५ हजार रुपैया रकम हस्तान्तरण गरेका छन् । गुरुकुल पाठशालामा आयोजित कार्यक्रममा विद्यार्थीहरुले रकम हस्तान्तरण गरेका हुन् ।
नेपाल आइडलमा अहिले मोरङबाट एकमात्रै प्रतिष्पर्धी रहेकी लक्ष्मी बेलबारीकी भएर मात्रै नभै उनको गायन उत्कृष्ट रहेकाले सफलताका लागि ससहयोग गरेको गुरुकुल बाल क्लबकी अध्यक्ष रोजिना बस्नेतले बताइन् ।
आफुहरुको टिफिन खर्चबाट रकम जोगाइ सबैबाट संकलन गरेर सहयोग गरेको गूरुकुलका विद्यार्थीहरुले बताएका छन् ।
लक्ष्मीका बुवा रघुनाथले विद्यार्थीहरुबाट प्राप्त सहयोगका लागि गुरुकुल बालक्लबलाई धन्यबाद दिएका छन् । गुरुकुलका विद्यार्थीहरुले गरेजस्तै सहयोग र साथ सबैतर्फबाट भएमा बेलबारी र समग्र मोरङको प्रतिनिधित्व गर्दै लक्ष्मीले उपाधी जित्न सक्ने भन्दै रघुनाथले सहयोगको अपेक्षा समेत गरेका छन् ।