मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।
बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने,‘ घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’
उनका अनुसार बालिका स्कुल आउ-जाउ गर्दा गिरीको घरको बाटो जानुपर्छ । बुधबार साझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ ।
स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको शुक्रबार बिहान शव गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव नाङ्गो अवस्थामा थियो । ढुङ्गाले थिचेर लुकाएको शव शरिरको विभिन्न भागमा चोटपटक छ । उनका अनुसार बालिका जाते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।