नेपाल टि२० विश्वकप कपमा पुग्न युएईसँग खेल्दै

आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ ।
आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर÷नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । यूएई तीन खेलमा दुईमा जित र एकमा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दैछन् । फाइनलमा पुग्ने दुवै टोलीले विश्व कप खेल्न पाउनेछन् ।
फाइनल खेल आउँदो बिहीवार हुनेछ ।