आइतबार थप दुई सय ६२ जनामा कोरोना सङ्क्रमण

नेपालमा आइतबार थप दुई सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन आरडीटी गरी नौ हजार आठ सय १५ जनाको नमुना परीक्षण गर्दा दुई सय ६२ जनामा सङ्क्रमण देखिएको छ । यही अवधिमा सङ्क्रमणबाट चार जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २१ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ३८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार दुई सय ४४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म नौ लाख ५१ हजार तीन सय ९४ जना निको भएका छन् ।