खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु

विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेक खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो मौसममा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।
जाडो छल्न काठमाण्डौलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासी पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत देखिन थालेको उहाँले बताउनुभयो ।
खुम्बु भित्रिनेको सङ्ख्या बढेसँगै केही दिनयता तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान र अवतरणको सङ्ख्यामा वृद्धि भएको छ । चिसो क्रमशः घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुक्लामा एक हप्तायता विमानमार्फत दैनिक एक सय जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन् । लुक्लाबाट फर्किने यात्रु शून्यप्रायः भए पनि भित्रिने यात्रुको सङ्ख्या बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।