रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ विरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।