बेलबारी बस्ने एक महिलालाई करणी गरेको अभियोगमा ३ पक्राउ

मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

उनिहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय RIT र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।