सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव

झापाः झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो स्थानमा सताक्षीधाम मन्दिर छ ।

शिवसताक्षी नगरपालिका–११ मा रहेको यो मन्दिरको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थमा समेत वर्णित छ । स्थानीयवासीले त्यही आधारमा धार्मिक पर्यटनस्थलका रूपमा सताक्षीधामको विकास गर्न सकिने विश्वास लिएका छन् । भगवद्गीता, चण्डी, श्रीस्वास्थानी व्रत कथाजस्ता ग्रन्थमा सताक्षीधामको वर्णन पाइन्छ । भागवद्गीताको ११ औँ अध्यायमा पनि सताक्षीधामको महिमा वर्णन गरिएको पीठाधीश आचार्य नन्दीकिशोर भारद्वाजले बताए ।

खासगरी बालाचतुर्दशी, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, शिवरात्रिजस्ता धार्मिक पर्व, वैशाख १ र जनवरी १ मा यहाँ तीर्थालुको घुइँचो नै लाग्ने गरेको छ । सताक्षीधाममा बालाचतुर्दशीका दिन हरेक वर्ष धार्मिक मेला लाग्ने गरेको छ । दिवङ्गत आफन्तका नाममा शत्बीज छर्न र श्राद्ध गर्न यस क्षेत्रमा हिन्दू धर्मावलम्बी नेपाललगायत भारत, भुटान र बर्माका विभिन्न ठाउँबाट आउने गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो ठाउँ पछिल्लो समय पर्यटकीय दृष्टिकोण समेतले धेरैको रोजाइमा परेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा सरकारको यो अभियानलाई सताक्षीधाम विकास समितिसमेतले सहयोग पु¥याउँदै धार्मिक पर्यटक भित्र्याउन पहल थालेको छ ।

धामले अहिले मन्दिर परिसरमा गत कात्तिक २७ देखि मङ्सिर ९ गतेसम्म १३ दिने सताक्षीधाम धार्मिक महोत्सव, १०८ कुण्डीय श्रीगोपाल महायज्ञ तथा श्रीमद्देवी भागवत कथा महोत्सवको आयोजना गरेको छ । यस क्षेत्रमा नेपालका करिब पाँच लाख र विभिन्न देशबाट २० हजारभन्दा बढी भक्तजन भित्र्याएर यस ठाउँको महिमालाई देश तथा विदेशमा फैलाउने प्रयास भइरहेको जिल्ला समन्वय समिति झापाका संयोजक तथा महोत्सव आयोजक समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मनी, माल्दिभ्स, अफ्रिका, भुटान र बर्मालगायतका देशबाट हिन्दू धर्मावलम्बीको ठूलो सङ्ख्यामा सहभागिता रहेको आयोजक समितिका अध्यक्ष पोर्तेलले बताए ।

महायज्ञमा १०८ कुण्डीय कोटीहवन राखिएको छ । कोटीहवनमा सबै कुण्डमा पितृ उद्धारका लागि अहिले हवन भइरहेको छ । नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा शुरु भएको महायज्ञ सम्पन्न गर्न झण्डै रु ३ करोड खर्च लाग्ने अनुमान गरिएको छ । ५ वर्षअघि सताक्षीधाममा स्थापना गरिएको गोलोक गोबद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणका बारेमा जनचेतना जगाउन धाम परिसरमा बर्सेनि गौकथा महोत्सवको आयोजनासमेत गर्दै आएको सताक्षीधाम धार्मिक महोत्सवका संरक्षकसमेत रहेका पीठाधीश आचार्य भारद्वाजले बताए ।

दैनिक झण्डै ४० हजारले सताक्षीधामको दर्शन गर्दै महोत्सवमा सहभागिता जनाइरहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक विनोद सापकोटाले बताए । उनका अनुसार बालाचतुर्दशीका दिन मात्रै एक लाखभन्दा बढी भक्तजनले यस ठाउँको दर्शन गर्नेछन् ।