नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार तीन सय ५९ जनाको नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा चार हजार चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप पाँच जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।