सागको ओलम्पिक टर्च र्याली शुरु

काठमाडौंः स्वयम्भु स्तुपादेखि दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली शुरु भएको छ ।

१३ औं संस्करणको उद्घाटनको दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्याली शुक्रबारदेखि शुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जीतबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली शुरु भएको हो ।

टर्च लिएपछि र्यालीमा सहभागी हुने ओलम्पियनहरुले स्वयम्भुको ३ पटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट र्यालीका लागि प्रस्थान गरेका थिए । सातै प्रदेशका मुख्य शहरमा पु¥याइने टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित र्यालीमा उपस्थितले स्वयम्भुको ३ मिनेट प्रार्थना गरेका थिए ।

र्याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालसहित उपस्थित सबैले ‘१३ औं सफल पारौं’, जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस्’ भन्ने नारा लगाएका थिए । र्याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पाएको छ ।

र्यालीमा विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन् । त्यसमा एथलेटिक्सबाट सर्वाधिक ७ ओलम्पियन छन् । र्यालीमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जीतबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।

पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिने छ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोही टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यतालिका रहेको छ ।