गुरुकुल पाठशालाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

बेलबारी ३ स्थित गुरुकुल पाठशालाले बिद्यार्थी,अविभावक र स्थानीय समुदायलाई सेवा प्रदान गर्न बुधबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।
गुरुकुलले नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्कुलमै आयोजना गरेको शिविरमा ५ सय भन्दा धेरैले सेवा लिएका छन् । गुरुकुलमा अध्यनरत विद्यार्थी,अविभावक तथा स्थानीय बासिन्दा समेतले शिविरबाट सेवा लिएका हुन् ।

शिविरमा भिडियो एक्सरे तथा इसिजी सहित प्रयोगशाला सेवा समेत निशुल्क प्रदान गरिएको प्रीन्सिपल कुमार खुलालले जानकारी दिनुभयो ।मुटुरोग,हाडजोर्नी,नाक कान घाँटी ,दन्त, बालरोग,जनरल फिजिसियन लगायत सम्बन्धित चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेको पनि खुलालले बताउनु भयो ।

विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो समुदायका अभिभावक र विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले १ दिने निशूल्क स्वास्थ्य सिविर आयोजना गरिएको प्रीन्सिपल खुलालले बताउनु भएको छ ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रम गुरुकुल पाठशालाका अध्यक्ष माधवराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।