सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ ।
कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले अस्पतालका संयोजक बैजनाथ साह, चिकित्सक, कर्मचारी लगायतसँग छलफल पनि गर्नुभएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
मन्त्री यादवले कोभिड अस्पतालले दिने सेवाका बारेमा सेवाग्राहीबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न निर्देशन पनि दिनुभएको छ । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारबाट सञ्चालित कोभिड अस्पतालको सेवाका बारेमा गुनासो सुन्नु नपरोस् र गुण्स्तरिय सेवा प्रदान होस् ।’ मन्त्री यादवले कोभिड संक्रमितको उपचारका खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुको प्रशंसा गर्नुभएको थियो । उहाँले कोभिड अस्पताल नजिकै निर्माण भईरहेको भवनको पनि अवलोकन गर्नुभएको छ । ७६ वेडको नयाँ भवन निर्माण सम्पन्न भएलगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
सामाजिक विकास मन्त्री यादवलाई अस्पतालका संयोजक साहले अक्सिजन प्लान्ट जडानका लागि भवन माग गर्नुभएको थियो । अहिले एउटा प्लान्टबाट मात्रै अक्सिजन उत्पादन भईरहेको छ । दुईबाट प्लान्टबाट उत्पादन शुरु भएपछि दैनिक ३ सय सिलिन्डरमा रिफिल गर्न सकिने साहले बताउनुभयो ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसीयु वेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरेल वेड १५ र अक्सिजन विनाको वेड १३ वटा रहेको छ । अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भईरहेको संयोजक साहले बताउनुभयो ।