सेन्ट्रल जोन भलिबल : उपाधिका लागी नेपालले उज्वेकिस्तानसँग खेल्ने

साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाल अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो ।