सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन: मन्त्री यादव

विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भएको छ । सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ छोरा–छोरीले सम्मान गर्र्ने गरेको पाईएको छ ।’
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न आवस्यक रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सामाजिक विकास मन्त्री यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी कति प्रमाण दिने ?’ नागरिकताको सवालमा धेरै समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ भूमीपुत्रहरुलाई खोजेर नागरिकता दिनुपर्छ ।’ भूमीपुत्रहरु नागरिकता नपाएर पलायन हुनुपर्ने अवस्था आउन दिनु नहुनेमा उहाँको जोड छ ।