शेयर बजार सूचक झर्याे यस वर्षकै न्यून बिन्दुमा

विराटचोकः शेयर बजार सूचक यस वर्षकै न्यून बिन्दुमा झरेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से १ हजार १ सय २० दशमलव ६० अङ्कमा झरेको हो । यसअघि गत भदौ ५ गते १ हजार १ सय २३ दशमलव ८३ अङ्कको तल्लो बिन्दुमा रहेको नेप्सेले सो रेकर्ड तोडेर चालु आर्थिक वर्षको तल्लो बिन्दुमा अडिएको हो ।

शेयर लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडालाई रुचाएका छैनन् । मन्त्रिमण्डल पुनर्गठन हुँदा उनी यथावत् रहेपछि बजारले नकारात्मक प्रतिक्रिया दिएको विश्लेषक बताउँछन् । यद्यपि बियरिस ट्रेन्डमा रहेको बजारमा केही राम्रा कम्पनीको बाहेक प्रायः सबै राम्रा कम्पनीले लाभांश दिइसकेकाले बजार घट्नुलाई सामन्य रुपमा लिने लगानीकर्ता पनि छन् ।

बजार घटे पनि विगत केही दिनदेखि १० प्रतिशतका दरले शेयरमूल्य बढिरहेका साल्ट ट्रेडिङ र घोडीघोडा लघुवित्तको शेयरमूल्य बिहीबार पनि १० प्रतिशतले नै बढेको छ । नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य पनि १० प्रतिशत नै बढेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ८ दशमलव २० लक्ष्मी लघुवित्तको शेयरमूल्य ५ दशमलव ५१ र मिथिला लघुवित्तको शेयरमूल्य ५ दशमलव २५ प्रतिशतले तल झरेको छ ।

बिहीबार १ सय ६७ कम्पनीको १० लाख ५० हजार ४ सय १२ कित्ता शेयर ५ हजार ६ सय ७२ पटक किनबेच भएका थिए । बिहीबार २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँको शेयर किनबेच भएको थियो । जुन अघिल्लो दिनको भन्दा ६० लाख रुपैयाँमात्रै कम हो । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये व्यापार, सामुहिक लगानी कोष र अन्य उपसमूहको सूचक रहे भने उत्पादनमूलक समूहमा सबैभन्दा बढी गिरावट आयो ।

कारोबार रकमका आधारमा एनएमबी, नेपाल बैंक र एनआईसी एशिया बैंक अगाडि रहेका छन् । चौथो स्थानमा रहेको साल्ट ट्रेडिङले पनि १ करोडभन्दा बढीको कारोबार गरेको छ भने अन्य कम्पनीको कारोबार रकम ८७ लाख भन्दा तल छ ।