माईजोगमाई अध्यक्ष कप : मानेभञ्ज्याङलाई उपाधि

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधि मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । सनिबार सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो ।

उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त गरेको छ ।

खेलको पहिलो हाफमा २ गोल गरेको मानेभज्याङले दोस्रो हाफमा समेत २ गोल थप्यो । खेलको दोस्रो हाफको मध्यतिर सुराग क्षेत्री रातो कार्ड पाउदै मैदान बाहिरिएपनि सुखानीको पोष्टमा मानेभञ्ज्याङले २ गोल थप्न सफल रह्यो ।

प्रतियोगिताको सर्वाधिक गोल कर्ता सुराग घोषित भए । खेलको बेष्ट गोलकिपर आयोजक माईजोगमाई रातोका सुजन फागो घोषित भए । बेष्ट डिफेन्स सुखानीका सेरेहाङ लिम्बू घोषित भए । बेष्ट फरवार्ड मानेभज्याङका सन्दिप लिम्बू र बेष्टमिड फिल्डर बिबेक राई घोषित भए । उर्निहरुले नगद पुरस्कार सगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र माईजोगमाई खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा नेपालका ७ सहित ८ टोलिको सहभागिता रहेको थियो । कार्यक्रममा खेलकुद परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता र प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।