सोलुखुम्बुमा केएमसीको चार दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, उपचार गराउँन बिरामीको घुँइचो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा आइतवारबाट चार दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी समूहिक युवा समूहसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर गरेको हो ।

शिविरको पहिलो दिन १ हजार ६४ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । १५ गतेसम्म चल्ने शिविरको पहिलो दिन २११ जनाको रक्त परीक्षण, २०५ जनाको भिडियो एक्सरे र १९७ जनाको इसीजी गरिएको छ । खाँतमा समस्या भएका ३० जनाको दाँत उखेलिएको छ । त्यस्तै, १३ जना विरामीको शिविरमै सामान्य शल्यक्रिया गरिएको छ । शिवरमा शल्यक्रिया गर्न सम्भव नभएका ५२ जना विरामीलाई अस्पताल रेफर गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा नेचा सल्लानका गाउँ–गाउँबाट विरामीहरु उपचारका लागि आए । काठमाडौंबाट बिशेषज्ञ डाक्टरहरुसहितको टोली गाउँमा आउँदा उपचारका लागि विरामीको घुँइचो लागेको थियो ।
शिविरमा केएमसीको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोनी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग लगायत विभागका विशेषज्ञ डाक्टरहरु विरामीको उपचारमा खटिएका छन् । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।