पोखरामा फुटबल स्टेडियमको प्यारापिट धमाधम जोडिँदै

पोखराः मंसिर १५ गतेदेखि शुरु हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम भइरहेको छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो । मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए ।

खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न शुरु गर्नेसमेत बरालले जानकारी दिए । मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन् । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ ।

मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ । पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । पोखरामा हुने खेलमा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।