युएईसँग पराजित हुँदै नेपाल बाहिरियो

नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टि२० विश्वकप खेल्ने सम्भावना एसिया क्षेत्र छनोटबाटै समाप्त भएको छ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको छ ।

युएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि२० ग्लोबल छनोटमा पुगेको छ । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अल आउट भयो ।
त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई ५ खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ बाहिरियो ।