८ जना मन्त्री हटाएर ९ जना नयाँ मन्त्री राख्दै ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन

विराटचोकः बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् भने ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् । नयाँ मन्त्रीको बिहीबार शपथग्रहण हुने बताइएको छ ।

ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कानुनमन्त्री भानुभक्त ढकालबीच मन्त्रालय साटफेर गरेका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने हाल भारत भ्रमणमा रहेका यादव कानुनमन्त्री भएका छन् ।

ओलीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण बिष्ट, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बर्खास्त गरेका छन् । उनीहरु सबै पूर्व एमालेबाट मन्त्री भएका थिए ।

पूर्व माओवादीबाट मन्त्री बनेका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पनि बर्खास्तमा परेका छन्
अब नेकपा सांसद वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, घनश्याम भुसाल कृषि, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, पार्वत गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रामेश्वर राय श्रम तथा लेखराज भट्ट उद्योगमन्त्री बन्ने भएका छन् ।

यस्तै उद्योगपति मोती दुगड उद्योग राज्यमन्त्री, नवराज राउत स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री बनेका छन् ।