भक्तपुरमा केएमसीको शिविरबाट १३ सय विरामी लाभान्वित

भक्तपुर,।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडेमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार ३ सय १७ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २०३ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १६४ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २२ जना विरामीको दाँत खोलिएको छ । यता, शिविरमा उपचार सम्भव नभएका ४३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरी केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।