ए डिभिजन लिग : शेर्पा र संकटाले अंक बाँडे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल आइस हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि संकटाले ६० औं मिनेटमा लक्ष्मण रुचालको गोलमा दोस्रो हाफमा अग्रता लिएको थियो । शेर्पाले तीन मिनेटपछि नै खेल बराबरीमा ल्यायो । त्रिदेव गुरुङले हेडरमार्फत गोल गर्दै शेर्पालाई खेलमा फर्काए ।

यसअघि शुक्रबार भएको खेलमा सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । लिगमा ४ टोलीको १–१ अंक भएको छ ।
लिगको उपाधि विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगमा टिकट १ सय रुपैयाँ राखिएको छ ।