केएमसीको शिविरबाट काठमाडौंको ज्याथाका नौ सय विरामी लाभान्वित

काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं.२७ ज्याथामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लवको सह–आयोजनामा काठमाडौं महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो ।

स्थानीय अल्वर्ट आईन्स्टाईन स्कूलमा आयोजित शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा ९ सय ६३ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९८ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १७४ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५५ जना विरामी दाँत खोलिएको छ ।
शिविरमा हाडजार्नी तथा नसा, दात, आँखा, प्रसुती तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका विरामीहरु उपचारका लागि आएका थिए । शिविरबाट ज्याथासहित आसपास क्षेत्रका विपन्न विरामीहरु बढी लाभान्वित भएको आयोजकले जनाएको छ ।
केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।