प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

आजको मतदानमा ७९ जना उपस्थित भएका थिए ।
एमालेका १० जना सांसद आजको बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

विश्वासको मत लिएपछि अब प्रदेश १ को मन्त्रिमण्डल विस्तार गर्ने राईको तयारी छ ।