प्रदेश १ सहित ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख फेर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रदेश १ को प्रमुखमा सिफारिस खापुङ जनता समाजवादी पार्टी र कर्णालीमा सिफारिस परियार माओवादी केन्द्र निकट मानिनुहुन्छ । सुदूरपश्चिममा सिफारिस भएका जोशी कांग्रेसका पूर्वसांसद हुनुहुन्छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।