पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरिएकोमा पाँच दशमलव ५७ प्रतिशत अर्थात् तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार एक सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार सात सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा पाँच सय १८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार आठ सय ९० मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सात लाख ९३ हजार सात सय ८९ जना सङ्क्रमित निको भइसकेका छन् ।

यही अवधिमा दुई जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३६ पुगेको छ ।