नौ जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय १६ पुगेको छ ।

कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार ६ सय ६४ नमुनाको परीक्षण गर्दा चार दशमलव ५६ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १३ हजार ११ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार ६ सय २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप चार सय ९० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार दुई सय ७७ पुगेको छ । अहिले देशभर नौ हजार तीन सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।