नोबेल अस्पतालमा बाल शल्यचिकित्सा सेवा सुरु

विराटनगर
नोबेल मेडिकल कलेजमा बाल शल्यचिकित्सा सेवा सुरु भएको छ । वरिष्ठ बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) डा. आशीषलाल श्रेष्ठले नोबेल मेडिकल कलेज, विराटनगरमा बाल शल्यचिकित्सा सेवा विस्तार गरेको जानकारी दिँदै आफूले सेवा दिन पाएकामा खुसी व्यक्त गरेका छन् ।

पछिल्लो केही दिनमा नोबेलमा बालबालिकाको शल्यक्रिया गरिसकेका उनले अब यो सेवालाई नियमित बनाउने सोच रहेको बताएका छन् ।

पेडियाट्रिक सर्जनमा ’एमसिएच’ गरेर ग्रान्डी अस्पतालमा तीन वर्ष काम गरेका डा. श्रेष्ठ हाल काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलमा कार्यरत छन् । डा. श्रेष्ठले अध्ययनका क्रममा दक्षिण भारतको भेलोरमा १२ वर्ष बिताएका हुन् ।

उनले सुरुमा ६ वर्ष क्रिस्टियन मेडिकल कलेज (सिएमसी भेलोर)मा एमबिबिएस गरेका हुन् । एमबिबिएसपछि अनुभवका कम्रमा उनले त्यहाँबाट फर्केर नेपालमा (पाल्पा, ओखलढुङ्गालगायत ठाउँमा) केही समय अभ्यास गरे ।

त्यसपछि फेरि भेलोर गएर तीन वर्ष एमएस जनरल सर्जरीको पोस्ट ग्राजुएसन ट्रेनिङ गरे । एमएस गरेपछिका तीन वर्ष उनले पाल्पाको मिसन अस्पतालमा रहेर सेवा दिए । त्यसपछि उनले तीन वर्ष ’एमसिएच पेडियाट्रिक’ सर्जरीको कोर्स गरेका हुन् । बेलाबेला नेपाल आउने र अध्ययनका लागि भारत फर्कने क्रम भइरह्यो ।

एमसिएचपछि पाटन अस्पतालमा ६ महिना, ग्रान्डी अस्पतालमा तीन वर्ष हुँदै पछिल्लो सात महिनादेखि काठमाडौँ मेडिकल कलेजमा सेवा दिइरहेका छन् ।
अब उनले विराटनगरको नोबेल मेडिकल कलेजमा पनि बाल शल्यचिकित्सा सेवा दिने भएका हुन् । पेडियाट्रिक सर्जरीको विषयमा डा. श्रेष्ठसँग गरिएको कुराकानीका आधारमा यो सामग्री तयार पारिएको छ ।

पेडियाट्रिक सर्जरी के हो ? यसमा के पर्छन् ? के पर्दैनन् ?

बच्चाहरूमा हुने सबै किसिमको शल्यक्रियालाई पेडियाट्रिक सर्जरी भनिन्छ । भर्खर जन्मेको नवजात शिशुदेखि १६ वर्षसम्मका बच्चाको सम्पूर्ण शल्यक्रियाको विधिबाट दिनुपर्ने उपचार दिइन्छ । नाक, कान, घाँटी, आँखा, हड्डी, दिमाग, मुटुबाहेक अन्य सबै समस्याको सर्जरी गरिन्छ ।

कतिपय बच्चाहरूमा जन्मनासाथ विभिन्न समस्या हुन्छन् । उनीहरूको विभिन्न अङ्ग सही ठाउँमा र ठीक अवस्थामा नहुन सक्छ । ती अङ्गलाई ठीक पार्न सर्जरी गर्नुपर्ने हुन्छ, जुन पेडियाट्रिक सर्जनले गर्ने गर्छन् ।

खाना नली, छाती, पेटसम्बन्धी सबै समस्या, आन्द्रासँग सम्बन्धित समस्या, मिर्गौलाको, पिसाब गर्ने ठाउँको समस्या, अन्डकोषको समस्या, मलद्वारको सबै प्रकारको शल्यक्रिया गरिन्छ ।

यसबाहेक बच्चाहरूमा हुने विशेष रोग, क्यान्सर, पेटभित्र देखिने क्यान्सरको उपचार पनि पेडियाट्रिक सर्जरीबाट हुन्छ ।

नेपालमा पेडियाट्रिक सर्जरीमा के कस्तो विकास भएको छ ?

पेडियाट्रिक सर्जरी नेपालमा हुर्किंदै गरेको अवस्थामा छ । त्यति विकास भइसकेको छैन । तर बाल शल्यचिकित्सा पहिला र अहिले तुलना गर्दा निकै सुधार भएको छ ।

पेडियाट्रिक सर्जरीमा सक्दो एड्भान्ड सेवा दिरहेको डा. श्रेष्ठको भनाइ छ । बच्चाहरूमा चिरफार नगरी दूरबिनको मध्यमबाट (ल्याप्रोस्कोपिक सर्जरी) पनि उपचार गर्न सकिने अवस्था छ र सोही विधिबाट उपचार भइरहेको छ ।

एपेन्डिक्सको समस्या, पित्तथैलीमा ढुङ्गाको समस्या वा छातीको समस्यामा थोरास्कोस्कोपिक सर्जरीको माध्यमबाट बच्चामा पनि सर्जरी भइरहेको छ । यसबाहेक बच्चामा क्यान्सरसम्बन्धी समस्याको उपचारका लागि विदेश जानुपर्ने अवस्था नरहेको र नेपालमा नै यसको उपचार गर्न सकिने उनले बताए ।
कोशीअनलाइनबाट