ललितपुरको गोदावारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर ।
बिभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावारीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावारी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कूलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मन्त्री भुषालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका बिरामीहरुलाई धेरै फाइदा पुग्ने भन्दै शिविर आयोजकहरुलाई धन्यवाद दिइन् । कार्यक्रममा सांसद राजकाजी महर्जन, गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावारी नगरपालिका १२ का वडाध्यक्ष जगत बहादुर महर्जन, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायतले निःशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा विपन्न बिरामीले भरपुर फाइदा लिन सक्ने धारणा राखे ।

शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । शिविरमा ३१४ जनाको रक्त परीक्षण, २२१ जनाको भिडियो एक्सरे र १९८ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । गाउँ–गाउँबाट बिरामीहरु उपचारका लागि शिविरमा आएका थिए । केएमसीका विशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

केएमसीले यसअघि भक्तपुरको दुवाकोट र रामेछापको सुनापातीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । दुवाकोटको शिविरमा १ हजार ६ सय ६२ र रामेछापको शिविरमा १ हजार १ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसी अध्यक्ष डा.शर्मा बताउँछन् ।




Leave a Reply

Your email address will not be published.