एमाले बेलबारी अधिवेसन : मिलन राईले अध्यक्षको दावी नछोड्दा चुनावी माहोल बन्दै

नेकपा एमाले बेलबारीको नगर अधिवेसनमा अध्यक्ष लगायत केही पदमा एक भन्दा बढि आकांक्षी देखिएपनि निर्वाचन प्रकृया सुरु नहुँदा नेतृत्व चयन ढिला भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा नेकपा एमाले बेलबारीको नगर अधिवेसन निरन्तर लम्बिँदै गएको हो । गत कात्तिक ९ गतेबाट सुरु भएको अधिवेसनले ४ दिनसम्ममा पनि नेतृत्व चयन गर्ने छाँटकाँट देखिएको छैन् । असन्तुष्टीहरुलाई सुल्झाएर सहमति गराउँदै अघि बढ्ने अधिवेसन आयोजकको भुमिकामा रहेको नेतृत्वले दावी गरे पनि यसबाट अझ समस्या बल्झिने संकेत देखिएको छ । सहमतिको सम्भावना सकिँदै गर्दा अब नगर अधिवेसनमा चुनावी माहोल सिर्जना भएको अधिवेसन आयोजक कमिटीकै सदस्यहरुले स्विकार गरेका छन् ।
एमाले नगर कमिटी अध्यक्षको दावी प्रस्तुत गरेका मिलन राई र इरान राई मध्ये कस्लाई अध्यक्ष बनाउने भन्ने विषयमा कुरा नमिल्दा मुख्य गाँठो फुक्न सकेको छैन् । अध्यक्षको दावेदार रहेका मिलनलाई पछि हटाएर इरानलाई सर्वसम्मत अध्यक्ष बनाउने भनेर अध्यक्ष मण्डलमा रहेका सहित केही नेताहरु निरन्तर लागिरहे पनि यसमा प्रगति शुन्य देखिएको छ । मिलनले आफु अध्यक्षको प्रतिष्पर्धाबाट पछि नहट्ने बरु बैधानिक र लोकतान्त्रिक विधिअनुसार आउने परिणामलाई स्विकार गरेर अघि बढ्ने स्पष्ट रुपमा बताउँदै आएका छन् । नगर कमिटीमा युवा र नयाँ नेतृत्व आउनुपर्दछ भन्ने वकालत गर्दैआएका एमालेका युवा पुस्ता चुनाव उन्मुख वातावरणका कारण उत्साही समेत देखिएका छन् ।
एमाले बेलबारीको नगर अधिवेसनमा अध्यक्ष मण्डलको नेतृत्व नन्दराज गिरीले गरिरहेका छन् । मिलनलाई अध्यक्षको दावी छोडाउने पहल स्वरुप विहिबार मिलनको बेलबारी ६ स्थित निवासमै अध्यक्ष मण्डलका पदाधीकारी सहितका नेताहरु पुगेका थिए । तर,मिलनले आफु कुनै हालतमा पछि नहट्ने बरु चुनावी प्रकृयाबाट आउने परिणामलाई स्विकार गर्ने स्पष्ट अडान दोहोर्याएका थिए । आफु पार्टीको इमान्दार सिपाही रहेको र विधिको पक्षधर समेत रहेको मिलनले दावी गरेका छन् । गलत प्रवृत्ति विरुद्धको विद्रोहका लागि पनि आफ्नो दावी निरन्तर रहेको मिलनको तर्क छ । आफुले सुझबुझ पुर्ण रुपमै अध्यक्षको दावी गरेकोले अब चुनावबाटै हराउन उनले अति स्पष्ट शब्दमा चुनौती दिएका छन् । नगर अध्यक्षको दावी गर्नसक्ने हैसियत,अनुभव र उत्साह समेत रहेकाले अध्यक्ष पदमा दावी गर्नु आफ्नो लोकतान्त्रिक अधिकार भएकाले पछि नहट्ने मिलनले अडान लिएका छन् ।
यता समन्वयकारी भुमिका निर्वाह गरिरहेका केही नेताहरु भने जसरी पनि मिलनलाई पछि हटाएर इरानलाई नै अध्यक्ष घोषणा गर्ने तयारीका साथ अघि बढिरहेको एक नेता बताउँछन् । कम्युनिष्टमा जनवादी केन्द्रियता हुने भएकाले त्यसकै आधारमा अध्यक्ष मण्डलले इरान राईको अध्यक्षतामा नगरकमिटी घोषणा गरेर अघि बढ्ने सम्भावना रहेको ती नेता बताउँछन् ।
शुक्रबार एमाले जिल्ला कमिटी मोरङका अध्यक्ष ऋषि पोखरेल सहितका नेताहरुले मिलनलाई मनाउने प्रयास गर्ने भएका छन् । तर, मिलनले यो छलफललाई पनि कुनै चासो दिएका छैनन् । मिडियासँग खासै खुलेर बोल्न नचाहेका मिलनले आफु विधिको पक्षमा रहेको र विधी अनुसारनै पछि हट्ने वा नेतृत्वमा जाने टुंगो लाग्नुपर्ने मात्रै बताउने गरेका छन् । मिलनले आफुलाई वेवास्ता गरेर चुनावी प्रकृया पुरा नगरी नगरकमिटी घोषणा गरिएमा आफुले सकेसम्मको उपयुक्त कदम चाल्ने चेतावनी नै दिएको उनी निकटहरु बताउँछन् ।
मिलन पक्षका एक युवा नेताले बताए अनुसार मिलनले पत्रकार सम्मेलन नै गरेर आफु अध्यक्षको आकांक्षी रहेको र चुनावी प्रकृयामा जानुपर्ने धारणा सहितको अपिल गर्ने तयारी समेत गरेका छन् । ति नेता भन्छन् ‘यसरी निरन्तर रुपमा अनुचित ढंगले दवावमात्रै दिने र प्रकृयामा नजाने हो भने परिस्थिति झनै असहज हुन्छ । वहानाबाजी गर्दै युवाहरुलाई नेतृत्वमा जान रोक्ने हो भने युवाहरुले पनि विकल्प खोज्नुपर्ने बाध्यता हुन्छ ।’ उनका अनुसार मिलनले अवस्था हेरेर अपरान्ह पत्रकार सम्मेलन गर्ने सम्भावना समेत रहेको छ ।
अधिवेसनमा निर्वाचन आयोगको अध्यक्ष घनश्याम गौतम रहेका छन् । छलफलबाट सहमति नजुटेमा आवश्यक निर्वाचन प्रकृया अघि बढ्ने गौतमले जानकारी दिए । सकेसम्म सहमतिय ढंगले नेतृत्व चयन गर्ने कसरत भैरहेको पनि उनले बताए ।
तर सर्वसम्मतिको वाहानामा निर्णय लाद्ने र स्वतन्त्र छिनोफानो हुन नदिने हो भने यस्ले विष्फोटको अवस्था आउने मिलन राई र उनका पक्षधरहरुले बताएका छन् ।
बेलबारी वडानम्बर ६ का मिलन राई एमाले भित्र युवा दस्ता समेट्ने परिचालन गर्ने,पार्टीप्रति इमान्दार र वफादार नेताका रुपमा चिनिन्छन् । युवा लक्षित क्रियाकलाप र गतिविधिमा रुचि राख्ने मिलन तुलनात्मक रुपमा युवामाझ लोकप्रिय मानिन्छन् । तत्कालिन नेकपा एमाले कसेनी गाउँ कमिटीको सचिव हृुँदै अध्यक्षको समेत जिम्मेवारी सम्हालीसकेका मिलन नेकपा एमाले बेलबारी नगरको उपाध्यक्ष समेत रहीसकेका छन् । उनी एमाले र माओवादी केन्द्रविच एकता भएर बनेको नेकपामा पनि कार्यलय सदस्यका रुपमा अग्रपंक्ति रहेर काम गरेका थिए ।उनी अहिले एमाले बेलबारी नगर सचिवालय सदस्य समेत रहेका छन् ।
युवा उर्जालाई समेटेर पार्टीलाई चलायमान बनाउन मिलन जस्ता युवा नेताहरुको आवश्यकता रहेको नगरमा क्रियाशिल एमालेकै केही उच्च तहका नेताहरु पनि स्विकार्छन् । तर,औपचारिक रुपमा निर्वाचनको प्रकृया अघि नबढेको अवस्थामा आफुहरुले अहिले यस्तो लविङ गर्ने अवस्था पनि नरहेको उनीहरु बताउँछन् ।
उता लामो समयदेखि एमाले बेलबारीको नेतृत्व तहमा रहँदै आएका इरान राई हाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य छन् भने बेलबारी नगर अधिवसेसन आयोजक कमिटीका संयोजक हुन् । बेलबारी नगरकमिटीको हकमा उनी नेतृत्व परिक्षण गरिसकेका र अग्रज तथा पाका नेताका रुपमा हेरिन्छन् ।
एमाले अधिवेसन चलीरहँदा नेताहरुले माथीको सर्कुलर नै सकेसम्म सहमति गरेर नेतृत्व छान्नुपर्ने रहेको बताउने गरेका छन् । माथीको सर्कुलर भन्दै माथीबाटै नेताको टाउको गनेर नेतृत्व घोषणा गर्ने कसरत भैरहँदा अधिवेसनमा उत्साहित बनेको एमालेको युवा पंक्तिमा भने निरासा थपिएको देखिन्छ । विभिन्न वहानामा बुढाखाडा नेताहरुलाई नै च्यापेर कमिटीमा राख्ने र युवाहरुलाई नेतृत्वमा स्थापित हुन नदिने प्रवृत्तिले युवाहरुमा निरासा ल्याउने र पलायन वा विकल्पको बाटो रोज्ने वाध्यता सिर्जना हुने बेलबारी ७ का एक युवा नेताले बताए । उनले आफुपनि कमिटीमा बस्न इच्छुक भएपनि ‘हाइकमाण्ड’ ले रोकेपछि पछि हटेको बताए । पार्टी नेतृत्वको यो रवैयाप्रति धेरै युवाहरुको तिब्र असन्तुष्टि देखिए पनि उनीहरु वाध्यताले मौन बसेका छन् ।हाईकमाण्डले उत्साह हाई(उच्च) गर्ने भन्दा पनि निराशा छर्ने काम गरेको बेलबारी १ का एक जना पार्टी सदस्यले गुनासो गरे । चुनाव भएमा मन खोलेर मतदान गरेर नेतृत्व छान्ने चाहना अधिकांस प्रतिनिधिहरुमा देखिएको निर्वाचन आयोगकै एक सदस्यले बताए ।
एमाले बेलबारी नगरकमिटी अध्यक्ष मात्रै हैन् सचिव र उपसचिव पदमा पनि कुरा मिलेको छैन् । सचिव पदका लागि अजित अधिकारी र शंखर गुरुङको दावी रहेको छ । यस्तै उपसचिवमा उदयवहादुर राई र रमेश निरौलाको दावी रहेको छ । एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषि पोखरेल सहित नेताहरुको समुहले अहिले सचिव पदमा सहमति जुटाउन छलफल गरिरहेको एक नेताले जानकारी दिए ।
नेकपा एमाले नगरकमिटीको पदाधीकारीहरु मध्ये अहिले सम्म उपाध्यक्षमा कृष्ण गुरुङ र उपसचिव महिलामा सुनिता चौधरी सर्वसम्मत बनेका छन् ।
गत कात्तिक ९ सुरु भएको अधिवेसनमा नेतृत्व चयनको विषयले निकास नपाउँदा समय लम्बिरहेको हो । नगर अधिवेसनका लागि वडा अधिवेसनबाट ६ सय ८७ जना प्रतिनिधि छानिएका छन् भने नगर अधिवेसन आयोजक समितिका ३ सय ३१ सदस्यहरु पनि नगर अधिवेसनमा सहभागी हुन्छन् । निर्वाचन प्रकृया भएमा एक हजार १८ जनाले मतदान गर्न पाउने एमाले नगर अधिवेसन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए ।