पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल दोस्रोमै सिमित

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएसँगै पहिलो पटक फाइनल पुगेको नेपालको उपाधि जित्ने लक्ष्य पुरा हुन नसकेको हो ।

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो । सन २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन ।

१३ औँ संस्करणको साफ च्याम्पियनसिपमा यसपटक नेपालले दमदार सुरुवातका साथ यात्रा अघि बढाएको थियो । पहिलो पटक सुरुवाती दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । कमजोर सुरुवात गर्ने क्रममा पहिलो दुई खेलमा बराबरी गरेको भारतले त्यसपछिका दुवै खेल जितेर ८ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल ७ अंकका साथ दोस्रो हुँदै अन्तिम दुईमा पुगेको थियो ।