सागको लागि २१ खेलमा वैदेशिक प्रशिक्षण

काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालबाट ५ सय ९९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मङ्गलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । नेपालबाट ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए ।

‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढी पदक जित्ने आशा लिएका छौं,’ उनले भने । नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको जनाएको छ ।

समितिले फेन्सिङ, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कबड्डी, ह्यान्डबललगायतका खेलहरू गरी २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भएको र केही वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखीकरण तालीम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो ।

साग बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्धीसमेत हासिल गरेको समितिले जनाएको छ । दक्षिण एशियाली कराते च्याम्पियनसिमपा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको समितिले जनाएको छ ।

विश्व तेक्वान्दो हान्मादाङ च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो । त्यसैगरी, चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ । सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्य सुशील नरसिंह राणाले बताए ।

डा. प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकाले १३ औं सागमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।

संयोजक रानाभाटले नेपालले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।