पासो लागेको डोरी बेच्न महिलाको हत्या गर्ने मोरङका सुमन सहित ३ पक्राउ

महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो ।

मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परी डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा तीन जनाको समूहले तामाङको ज्यान लिएको अभियोगमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर उनिहरु फरार थिए । फरार रहेका ३ जनालाई पक्राउ गरेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए ।