उमा कुङ्फुमा नेपाली खेलाडीले जिते ७ पदक

काठमाडौंः नेपाली उमा कुङ्फु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन् ।

अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिकमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् । सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कास्य जिते । कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कास्य हात पारे । त्यस्तै, रमेश महर्जनले एक स्पर्धामा कास्य प्राप्त गरे ।

पदक विजेता खेलाडीलाई अस्ट्रियामा सम्मान पनि गरिएको थियो । वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

३ खेलाडीसहित व्यवस्थापक अशोक केसी मङ्गलबारै स्वदेश फर्किएका छन् । उनीहरूलाई नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवम् डब्लुएमएसीका इन्टरनेसनल बोर्ड अफ डाइरेक्टर तथा एशियाली डब्लुएमएसीएका डाइरेक्टर सिद्धार्थ लामा, नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष सञ्जित राईलगायतले एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।