परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९७ हजार एक सय ९२ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय पाँच जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार दुई सय २४ जना पुगेको छ ।
यही अवधिमा थप सात जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६४ पुगेको छ ।
अहिले नेपालमा १६ हजार आठ सय चार जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३७ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।