वैशाख मसान्तसम्म सबै नागरिकलाई खोप : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम गरिरहेको बताउनुभयो ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार एक सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशव्यापी चलिरहेको खोप कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा लगाइएको खोपसँगै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ३८ हजार एक जना पुगेको छ । ७२ लाख १४ हजार सात सय ४२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।