नेपालले ओमानलाई ७ विकेटले हरायो

नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो ।

अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो ।

जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।