देशभर सात सय ३४ जनामा कोरोना, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनाको सात दशमलव ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७३ हजार पाँच सय ३४ पुगेको छ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यही अवधिमा थप १२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४० पुगेको छ ।
अहिले तीन सय ९० जना सङ्क्रमितको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।