खोटाङमा डेङ्गीका बिरामी भेटिए

खोटाङ ।
हप्ता दिनको अवधिमा खोटाङमा डेङ्गीका आठ जना बिरामी भेटिएका छन ।
जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले दिएको जानकारी अनुसार अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेङ्गी लागेको पुष्टि भएको छ । शुक्रवार दुई जनालाई डेङ्गी पोजेटिभ पुष्टि भएको सुपरिटेन्डेन्ट डा. मल्लिकले बताउनुभयो ।

सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले भदौ ३० गते अन्यत्र रेफर गरेको छ । डेङ्गीका दुई जना बिरामी भने अहिले जिल्ला अस्पतालमै उपचाररत छन् । अन्य बिरामी भने घरैमा उपचारमा रहेको डा.मल्लिकले बताउनुभयो ।
साकेला गाउँपालिकामा पनि डेङ्गीका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेङ्गीका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.