प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।
उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् ।
मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।
पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।
मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।