परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४४ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ६० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएकासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६८ हजार ६ सय ६५ पुगेको छ ।
थप एक हजार दुई सय २० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४३ हजार पाँच सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै यही अवधिमा सात जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ९१ पुगेको छ ।
अहिले नेपालमा २६ हजार तीन सय सात जना सक्रिय सङ्क्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।