एकीकृत समाजवादीले प्रदेश १ सरकारलाई समर्थन नदिने

बिराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश १ सरकारलाई आफ्नो दलको समर्थन नरहेको प्रष्ट पारेको छ । सोमबार प्रदेशसभा सचिवालयमा संसदीय दल गठन भएको औपचारिक जानकारी गराउँदै प्रदेश सरकारलाई समर्थन नरहेको जनाएको हो ।

सोमबार अपरान्ह प्रदेशसभा सदस्य साबित्रा रेग्मीले संसदीय दलको मान्यता प्राप्त गरेको र प्रदेश सरकारलाई नेकपा (एकीकृत समाजवादी)को समर्थन नरहेको व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको हो ।
एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते एमाले सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । राजनीतिक रुपमा अल्पमतमा परेका बेला मुख्यमन्त्री नियुक्त भएका आचार्य सोमबारबाट वैधानिक रुपमा अल्पमतमा परेका छन् ।

प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद थिए । पार्टी विभाजन हुँदा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । १० सांसदले नयाँ दल रोजेपछि एमालेसँग ४१ जना सांसद छन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४१, काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद छन् ।