२४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार नौ सय १६ जनाको नमुना परीक्षण गरेकोमा एक हजार एक सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६१ हजार नौ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३६ हजार ६ सय ६६ जना पुगेको छ ।

यही अवधिमा थप २१ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय २४ पुगेको छ ।
अहिले २७ हजार नौ सय ५८ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।