मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री

तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो ।

समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् । उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ ।
सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् ।
समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन् ।
मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए । राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए ।