कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार २७ वर्षपछि पक्राउ

भोजपुर ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो । घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई भोजपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।